1 September 2026, Tuesday
१६ भाद्र २०८३, मंगलबार
Menu
 

आमाको दूधको अर्को महत्वपूर्ण फाइदा

आमाको दूधको अर्को महत्वपूर्ण फाइदा

आमाको दूधको अर्को महत्वपूर्ण फाइदा भनेको यसले मस्तिष्क विकासमा पार्ने प्रभाव हो । आमाको दूधमा पाइने डीएए, एआरए, कोलेस्टेरोल तथा अन्य आवश्यक फ्याटी एसिडहरूले स्नायु प्रणालीको विकासमा महत्वपूर्ण भूमिका खेल्छन् । डब्लुएचओले गरेको विभिन्न अध्ययनबाट स्तनपान गरेका बालबालिकाहरूमा बौद्धिक क्षमता, विद्यालय उपस्थिति तथा सिकाइ उपलब्धि राम्रो हुने उल्लेख गरेको छ । पछिल्ला दशकहरूमा स्तनपान र अटिजम स्पेक्ट्रम डिसअर्डर बीचको सम्बन्धबारे पनि अनुसन्धानहरू भएका छन् ।

इजिप्ट, चीन, अमेरिका तथा युरोपका विभिन्न अध्ययनहरूको मेटा–विश्लेषणहरूमा स्तनपान नगर्ने बालबालिकामा अटिजमको जोखिम उल्लेखनीय रूपमा बढी पाइएको छ । यद्यपि अटिजम बहुआयामिक कारणले हुने अवस्था हो र स्तनपान मात्रले यसको पूर्ण रोकथाम गर्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन, तर हाल उपलब्ध वैज्ञानिक प्रमाणहरूले स्तनपानलाई एक सम्भावित सुरक्षात्मक कारकका रूपमा समर्थन गरेका छन् ।

स्तनपान र क्यान्सरबीचको सम्बन्ध पनि अनुसन्धानको महत्वपूर्ण विषय बनेको छ । विभिन्न अध्ययनहरूले स्तनपान गर्ने बालबालिकामा हुने ल्युकेमिया लगायत केही रक्त क्यान्सरहरूको जोखिम कम हुन सक्ने देखाएका छन् । साथै बालमोटोपना, टाइप–२ मधुमेह तथा अन्य नसर्ने रोगहरूको जोखिम पनि कम हुने सम्भावना देखाएको छ ।

स्तनपानका फाइदा शिशुमा मात्र सीमित छैनन् । स्तनपान गर्ने आमाहरूमा प्रसूति पश्चात रक्तस्राव कम हुने, गर्भाशय छिटो सामान्य अवस्थामा फर्किने तथा स्तन र डिम्बाशयको क्यान्सरको जोखिम कम हुने प्रमाणित भै सकेका छन् । साथै टाइप–२ मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी केही रोगहरूको जोखिम पनि कम हुन सक्ने देखिएको छ ।

आधुनिक विज्ञानले बारम्बार पुष्टि गरेको तथ्य के हो भने आमाको दूध केवल नवजात शिशुको खानेकुरा मात्र होइन; यो त पोषण, प्रतिरक्षा, विकास र रोग रोकथामको अनुपम उपहार पनि हो । यसले नवजात शिशुलाई जीवनको पुर्बार्ध बाटै सुरक्षित जिबन प्रदान गर्दछ । त्यसैले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्ने, पहिलो ६ महिनासम्म पूर्ण स्तनपान गराउने तथा दुई वर्ष वा सोभन्दा बढी पनि समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिने अभ्यासलाई समाजका सबै तहबाट प्रोत्साहन गरिनुपर्छ ।

विशेष गरी राज्यले सुत्केरी विदा ६ महिना नदिँदास्वास्थकर्मीको सल्लाह व्यवहारिक नभएको गुनासो हाम्रै स्वास्थ्यकर्मीहरूले गरिरहनुपरेको अवस्था छ।

६ महिना सुत्केरी विदाको निर्णय छिटो भन्दा छिटो गर्न सके जागिरे आमाहरू लावान्वित हुने थिए र स्वस्थ शिशु, स्वस्थ आमा र स्वस्थ राष्ट्र निर्माणको आधार स्तनपान नै हो भन्ने मान्यता प्रमाणित हुने थियो ।