काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को ११ महिनाको समष्टिगत आर्थिक तथा वित्तीय तथ्याङ्कले नेपालको अर्थतन्त्र विरोधाभासपूर्ण देखिएको छ । देशको बाह्य अर्थतन्त्र इतिहासै मजबुत अवस्थामा हुँदा आन्तरिक अर्थतन्त्रमा भने विरोधाभासपूर्ण अवस्था देखिएको हो । कर्जा प्रवाहको सुस्तता र सरकारको पुँजीगत खर्चको निराशाजनक अवस्थाबिच गुज्रिरहेको अर्थतन्त्रमा यसपटक मूल्यवृद्धिको चापसमेत थपिएको छ ।
देशको बाह्य क्षेत्रलाई देखाउने सूचकहरु रेमिट्यान्स आप्रवाह, शोधनान्तर अवस्था, चालु खाता र वैदेशिक विनिमय सञ्चितिको पर्याप्तता निकै सहज अवस्थामा देखिएको छ । अर्कोतिर बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएर ब्याजदर निरन्तर ओरालो लागिरहेको छ । सस्तो ब्याजदरका बाबजुद निजी क्षेत्रले कर्जा माग गर्न सकेको देखिँदैन । यसले आन्तरिक व्यावसायिक वातावरण अहिले पनि समस्यामै रहेको देखाउँछ । कमजोर आन्तरिक उत्पादनले व्यापार घाटामा देखिएको असन्तुलन र पुँजीगत खर्च कार्यान्वयनको कमजोर अवस्थाको निरन्तरताबिच आम उपभोक्तालाई दैनिक उपभोग्य वस्तु र सेवामा भएको मूल्यवृद्धिले गाँज्दै लगेको तथ्याङ्ले देखाएका छन् ।
नेपालको अर्थतन्त्रको मुख्य आधार मानिने विप्रेषण आप्रवाहले चालु आर्थिक वर्षको ११ महिनामा पुराना सबै रेकर्डहरू तोडेको छ। ११ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह ३८.२ प्रतिशत वृद्धि हासिल गर्दै २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा पनि यो आप्रवाह २९.६ प्रतिशतले बढेर १४ अर्ब ५९ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यो वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या बढ्दा उनीहरूले पठाउने रकमसमेत बढेको र हुन्डीलगायतका अनौपचारिक च्यानलहरू निरुत्साहित हुँदा औपचारिक प्रणालीबाट भित्रिने रकममा यो उछाल आएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । रेमिट्यान्स आप्रवाहकै कारण देशको विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ अर्थात् २४ अर्ब ६८ करोड अमेरिकी डलर पुगेको छ । गत असार मसान्तको तुलनामा यो ४०.३ प्रतिशतको वृद्धि हो । र, यो इतिहासकै सबैभन्दा बलियो अवस्थासमेत हो ।