1 September 2026, Tuesday
१६ भाद्र २०८३, मंगलबार
Menu
 

नेपाल वेलनेस इयर–२०२७

नेपाल वेलनेस इयर–२०२७

ज्ञानभूमि, तपोभूमि र शान्तिभूमि नेपाललाई आध्यात्मिक केन्द्र बनाई विश्वभरका पर्यटक आकर्षित गर्ने महत्त्वपूर्ण माध्यम हो– आरोग्य पर्यटन । नेपालको समृद्ध संस्कृति र मनोरम प्रकृति आरोग्य पर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् ।
सरकारले नेपाललाई आरोग्य पर्यटनको हब बनाउने रणनीति अघि सारेको छ र ‘नेपाल वेलनेस इयर–२०२७’ मनाउने तयारी गरेको छ।
आरोग्य पर्यटनमार्फत हिमाल, मठमन्दिर, प्राकृतिक धरोहर र प्राचीन ध्यान–योग परम्परालाई प्रवर्द्धन गर्दै उच्च मूल्य सिर्जना र दिगो आर्थिक विकास गर्ने लक्ष्य लिइएको छ।
यस अवधारणालाई मूर्तरूप दिन पूर्वाधार विकास, अन्तरनिकाय समन्वय र विविध कार्यक्रम सञ्चालन गर्दै नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्र बनाउने योजना छ।

वर्तमान सरकार गठन भएलगत्तै तयार पारेको शासकीय सुधार कार्यसूचीमा नेपाललाई आरोग्य पर्यटनको हब बनाउने र त्यसका लागि आरोग्य पर्यटन रणनीति जारी गर्ने जनाइएको थियो । आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा लिई ‘नेपाल वेलनेल इयर–२०२७’ मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने योजना थियो ।

सो अनुरूप सरकारले पर्यटन क्षेत्रलाई नयाँ दिशामा रूपान्तरण गर्ने उद्देश्यसहित ‘राष्ट्रिय आरोग्य पर्यटन रणनीति लागू गरिसकेको छ । साथै विभिन्न पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाउने लक्ष्यसहितको खाका तयार पारेको छ । यसलाई सरकारले १ सय दिनमा भएका काममध्येको एक महत्त्वपूर्ण उपलब्धि मानेको छ ।
यस्ता कार्यक्रममार्फत सन् २०३० सम्म कुल पर्यटक आगमनमध्ये कम्तीमा ११ प्रतिशत आरोग्य पर्यटक बनाउने सरकारको लक्ष्य छ । सन् २०२७ लाई ‘नेपाल वेलनेल इयर–२०२७’ का रूपमा मनाउने गरी आवश्यक तयारी थालिसकेको मन्त्रालयले जनाएको छ । यस अवस्थामा आरोग्य पर्यटनमार्फत नेपालका हिमालय, मठ मन्दिर, सुन्दर प्राकृतिक धरोहर, शान्त वातावरण तथा प्राचीन ज्ञान, ध्यान योग र साधनाका पद्धतिलाई उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने अवसर हाम्रासामु छ ।

आरोग्य पर्यटन शारीरिक, मानसिक भावनात्मक तथा आध्यात्मिक तवरबाट स्वास्थ्यको संरक्षण गर्ने उद्देश्यले गरिने यात्रा हो । यसले मानिसको समग्र कल्याण, ध्यान, योग तथा आध्यात्मिकताको विकासमा सहयोग पुर्‍याउँछ । मन, मस्तिष्क, शरीर, भावना र चेतनालाई स्वस्थ राख्न सघाउँछ ।

नेपालका सुन्दर प्राकृतिक सम्पदा, मनमोहक हिमाल, सांस्कृतिक धरोहरलगायतका स्थानलाई आरोग्य पर्यटनका रूपमा स्थापित गर्न सके नेपाल आरोग्य पर्यटनका लागि प्रमुख गन्तव्य स्थल बन्न सक्छ । यसअन्तर्गत विभिन्न विविधता झल्किने क्षेत्रहरू योग, योगा, पदयात्रा र प्राचीन खालका खानपिन पर्छन् । आरोग्यताले व्यक्तिको स्वास्थ्य रक्षा मात्रै होइन, जीवनशैलीमा सुधार ल्याउन पनि मद्दत गर्छ । अहिलेको व्यस्त र प्रतिस्पर्धी समाजमा आरोग्यताको आवश्यकता अझै बढ्दो छ । किनभने हरेक परिस्थितिमा सहजतापूर्वक अघि बढ्न हरेक व्यक्तिलाई शारीरिक तथा मानसिक स्वास्थका साथै शान्ति, आनन्द र आध्यात्मिकता जरुरी हुन्छ । यसको परिपूर्तिका लागि वर्तमान सरकारले नेपालमा रहेका शान्त र मनोरम हिमाललाई प्राचीन ध्यान परम्परा र आयुर्वेदिक ज्ञान विस्तारको गन्तव्यका रूपमा विकास गर्ने एजेन्डा ल्याएको छ ।