बालबालिकाको समग्र विकासमा सहयोग
नियमित पौडी खेल्ने बालबालिकामा शरीरको सन्तुलन, आत्मविश्वास र शारीरिक विकास राम्रो हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । साथै, प्रारम्भिक उमेरमै पौडी सिकेका बालबालिकामा पानीसँगको डर कम हुने र जीवनरक्षासम्बन्धी महत्वपूर्ण सिप पनि विकास हुन्छ ।
नियमित शारीरिक गतिविधि गर्ने मानिसहरू सामान्यतया बढी स्वस्थ र सक्रिय जीवन बिताउँछन् । पौडी पनि त्यही श्रेणीको प्रभावकारी व्यायाम हो । यसले मुटु, फोक्सो, मांसपेशी र मानसिक स्वास्थ्यलाई एकैसाथ फाइदा पुर्याउने भएकाले दीर्घकालीन रूपमा स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्छ ।
स्विमिङ स्वस्थ जीवनशैलीका लागि उत्कृष्ट व्यायाम भए पनि आवश्यक सावधानी अपनाउन नसके दुर्घटनाको जोखिम बढ्न सक्छ । प्रशिक्षकको निगरानीमा पौडी खेल्नु उपयुक्त हुन्छ । सधैँ सफा, नियमित रूपमा पानी परिवर्तन गरिने र उचित सरसफाइ भएको स्विमिङ पुल रोज्नुपर्छ । अत्यधिक भिडभाड भएका वा दूषित पानी भएका पुलमा छाला, आँखा तथा अन्य संक्रामक रोग सर्ने जोखिम बढी हुन्छ । त्यसैले स्विमिङपछि सफा पानीले स्विमिङ गर्नु आवश्यक छ ।
स्विमिङ गगल्स, क्याप र आवश्यक परे लाइफ ज्याकेटजस्ता सुरक्षा सामग्री प्रयोग गर्नुपर्छ । मदिरा सेवन गरेर वा बिरामी अवस्थामा पौडी खेल्नु हुँदैन । दीर्घरोग भएका व्यक्तिले चिकित्सकको सल्लाहपछि मात्रै स्विमिङ गर्नुपर्छ । बालबालिकालाई कहिल्यै एक्लै पानीमा छोड्नु हुँदैन । यदि मुटु, श्वासप्रश्वास वा अन्य दीर्घरोग छ भने पौडी सुरु गर्नुअघि चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।