२०८३ श्रावण २, शनिबार
18 July 2026, Saturday
Menu
 

सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब

सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब

काठमाडौँ । यस साता सेयर बजारमा निराशाजनक प्रवृत्ति देखिएको छ। उपलब्ध ६ दिनको कारोबार तथ्याङ्कलाई हेर्दा बजार जम्मा एक दिन मात्र बढेको छ भने बाँकी ५ दिन सूचक ओरालो लागेको छ।

अघिल्लो कारोबार दिनमा २६५३.४० विन्दुमा रहेको बजार सूचक, यस साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा २६००.७८ विन्दुमा झरेको छ। यसरी हेर्दा समग्र सातामा बजार करिब ५२.६२ अङ्कले घटेको छ।

साताको सुरुवात (सोमबार) मा नै बजार २६.२९ अङ्कले घटेर २६२७.११ विन्दुमा बन्द भएको थियो। तर, त्यसको भोलिपल्ट मङ्गलबार भने बजारमा सकारात्मक प्रभाव देखियो। उक्त दिन बजार २४.५७ अङ्कले बढेर २६५१.६८ विन्दुमा पुगेको थियो। यो नै यस साताका लागि बजार बढेको एक मात्र दिन रह्यो।

त्यसपछिका लगातार तीन दिन बजार राताम्मे भयो। बुधबार साताकै सबैभन्दा ठुलो गिरावट यसै दिन भयो। बजार ३०.०९ अङ्कले घटेर २६२१.५९ मा झर्‍यो।

बिहीबार गिरावटले निरन्तरता पाउँदै बजार १९.६७ अङ्कले घट्यो। साताको अन्तिम दिन शुक्रबार बजारको भारी गिरावट रोकिए पनि सूचक सामान्य १.१३ अङ्कले घटेर २६००.७८ को विन्दुमा बन्द भएको छ। बजार घटे पनि कारोबार रकम भने औसतमा ३ अर्बको हाराहारीमा रहेको छ। बजार सबैभन्दा धेरैले बढेको दिन बुधबार बजार साताकै धेरै ३ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यसैगरी, सबैभन्दा बढी अङ्कले बजार घटेको दिन बिहीबार साताकै सबैभन्दा कम २ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। साताको अन्तिम दिन शुक्रबार भने ३ अर्ब ८ करोड माथिको कारोबार भएको तथ्याङ्कले देखाउँछ।

बजार घटेसँगै यो अवधिमा सेयर बजारको पुँजीकरण समेत घटेको छ । यो अवधिमा बजार ८७ अर्बले घटेको हो । 

गत शुक्रबार नेपाली सेयर बजारको कुल पुँजीकरण ४५ खर्ब ५९ अर्ब रुपैयाँ रहेको थियो । अहिले शुक्रबार अन्तिम कारोबार हुँदा बजार घटेर ४४ अर्ब ६८ करोडमा झरेको हो । 

बजार निरन्तर घटेपछि बिहीबार नेपाल धितोपत्र बोर्डले आफूहरूले सेयर बजारमा ठुलो रिफर्म ल्याउने गरी काम गरिरहेको भन्दै लगानीकर्ताहरूलाई नआत्तिन आह्वान गरेको थियो । तर, यो आह्वानलाई समेत बजारले पत्याएन । शुक्रबार पनि बजार सामान्य घटेरै बन्द भएको छ।